नियम ५८
चालक तथा परिचालकको काम र कर्तव्य
: यातायात सेवामा काम गर्ने चालक तथा
परिचालकको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :क) चालकको काम र कर्तव्य :
(१) आफ्नो जिम्मामा रहेको सवारी हिफाजत साथ चलाउने,
(२) सवारी सञ्चालन सम्बन्धमा सवारी धनी वा व्यवस्थापकले दिएको आदेश तथा निर्देशन ईमान्दारीपूवक पालन गर्ने,
(३) आफूले चलाएको सवारीको धनी वा व्यवस्थापकको स्वीकृति विना त्यस्तो सवारी अरू कसैलाई चलाउन नदिने,
(४) सवारी चलाउँदाको अवस्थामा चालकले गर्न नहुने भनी निषेध गरेका कार्यहरू नगर्ने,
(५) आफू सेवारत रहेको सवारीका परिचालकहरूलाई सवारी चलाउँदाको
क्रममा आवश्यकता अनुसारको काम कर्तव्यको पालन गर्न लगाउने,
(६) सवारी चलाउँदा हुन सक्ने सम्भावित दुर्घटना, सवारीको यान्त्रिक स्थिति, सडकको अवस्था ट्राफिक संकेत आदि नभएको कारणबाट सवारी आवागमनमा कठिनाई उत्पन्न भए त्यस सम्बन्धमा सम्बन्धित सवारी धनी वा व्यवस्थापक, विभाग वा कार्यालयमा सो को जानकारी दिने ।
(ख) परिचालकको काम र कर्तव्य :
(१) यात्रीहरूसँग शिष्ट व्यवहार गर्ने,
(२) यात्रीहरूको सरसामानको सुरक्षाको लागि उचित प्रबन्ध गर्ने र कुनै यात्रीले सरसामान तथा माल वस्तु सवारीमा छोडि गएमा त्यस्तो
सरसामान तथा माल वस्तुको धनी फेला परेमा निजलाई र फेला नपरेमा नजिकको प्रहरी वा आफू कार्यरत यातायात सेवाको जिम्मेवार
व्यक्तिको जिम्मामा दिने,
(३) महिला, बृद्ध, बालक तथा अन्य अशक्त व्यक्तिहरूलाई यात्रा अवधिमा सम्भव भएसम्मको सुविधाको बन्दोवस्त गर्ने,
(४) प्रचलित कानून तथा सुरक्षाको दृष्टिकोणले निषेधित वस्तु सवारीमा राखेको थाहा हुन आएमा प्रहरीलाई सूचना दिने,
(५) सवारी निर्माता कम्पनीले निर्धारण गरेको सवारीको वजनको हदको सीमा नाघ्ने गरी सवारीमा माल वस्तु तथा सरसामानहरू राख्न नदिने,
(६) सवारीको पार्किङ्ग स्थलमा यात्री ओराल्ने र चढाउने कार्यमा आवश्यक सहयोग गर्ने,
(७) सवारी चलाउँदाको अवस्थामा हुन सक्ने सम्भावित दुर्घटना प्रति यात्री तथा चालकलाई समयमै सचेत गराउने र सवारीको यान्त्रिक स्थिति
ठीक नभएमा सो को जानकारी व्यवस्थापक र सम्बन्धित कार्यालयलाई दिने,
(८) सडकको अवस्था तथा ट्राफिक संकेत नभएको कारणबाट सवारी आवागमनमा कठिनाई भए सो को जानकारी विभागलाई दिने ।
(९) सवारी चलाउँदाको अवस्थामा चालकलाई आवश्यक सहयोग पु¥याउने,
(१०) आफू परिचालक रहेको सवारीको सुरक्षा र हिफाजत गर्ने तथा नोक्सानी हुन नदिने,
(११) आफू सेवारत रहेको सवारी धनी वा व्यवस्थापकले दिएको सवारी सञ्चालन सम्बन्धी आदेशको पालना गर्ने ।